Tuesday, November 19, 2013

यो समय प्रतेक नेपालीले एक अर्कालाई बधाई दिने समय हो

अन्ततः सबै संसय र आशंकालाई चिर्दै संबिधानसभाको दोस्रो चुनाव अभूतपुर्ब रूपमा सम्पन्न भयो।  एक थरि कालो कोटधारी हरु र नागरिक समाजका ठेकदार हरु रेग्मीको नेतृत्वमा सरकार गठन हुँदा पहाडै खस्नेभो भनि कोकोहोलो मच्चाई रहेका थिए तर तिनको मुखमा बुजो लाग्नेगरी प्रचण्ड मतदानका मध्यम द्वारा जनताले जवाफ दिए।  तिनको कानुनी राज्य , शक्ति पृथकीकरण र अरु के के हो लाई भुत्लोभांग केहि भएन  त। वाहियात हरु !!!!!
जसले जति सिट जितोस् 'बाल मतलब '. मेरा लागि त लिकबाट उत्रेको राजनीतिक प्रक्रिया पुनः लिकमा आउनु नै महत्वपुर्ण कुरा हो।  हो , सरकार बन्न समय लाग्ला , राजनीतिक दलहरुका माझमा पुनः हानाथाप होला , पदका लागि सौदाबाजी होला।  तर यी सबका बीच नया जनादेश द्वारा शक्तिको बैधनिकिकरण त हुन्छ।  प्रमुख राजनीतिक दलहरुले संबिधान निर्माणका बिषयमा निर्णयको जुन सिद्धान्तमा सहमति गरेका छन तेसका आधारमा के भन्न सकिन्छ भने अब संबिधान लेखन धेरै टाढा छैन।  यसको मतलब संबिधान लेखन अब' केकवाक'हो भन्ने होइन।  कुरा कति मात्रै हो भने जति सुकै लेनदेन, मोलमोलाई , र गतिरोध देखिए पनि अब संबिधानसभा अनिर्णयको बन्दि बन्नेवाला छैन।  यो प्रक्रियामा जान्छ र जब प्रक्रियामा जान्छ निर्णय त भैहाल्छ।
यो चुनाबले बैद्य माओबादीको राजनीतिक हिसाब किताबलाई पनि उदाङ्ग पारिदियो।  जनताले तिनका बम बारुद र धाक धम्कीको परवाह नगरी जुन साहसका साथ मतदान गरे त्यो सलामीयोग्य छ।
यो समय प्रतेक नेपालीले एक अर्कालाई बधाई दिने समय हो।
बधाई बधाई बधाई !!!!!

Friday, November 15, 2013

एकदिने राजनीतिज्ञले भोट हाल्दा विचार पुर्याउनु पर्ने कुरा

 मङ्सिर ४  गते हाम्रो आँगनमा आइसक्यो।  त्यस दिन हामी सबै नेपाली नागरिक एकदिने राजनीतिज्ञ हुन्छौं । हाम्रो काँधमा मुलुकको भाग्य र भविष्य कसलाई सुम्पने भन्ने निर्णय गर्ने जिम्मेबारी छ।  यदि हामीले यो जिम्मेबारी विचार पुर्याएर बहन गरेनौं भने मुलुक चौपट हुने खतरा छ।  यस अर्थमा यो गम्भिरहुने घडी हो।  यतिबेला हामीले उम्मेदवार भन्दा पनि नीतिलाई हेरेर निर्णय गर्नु पर्छ। उम्मेदवार जतिसुकै राम्रो भए पनि यदि उसको पार्टीको नीति राम्रो छैन भने तेस्तालाई भोट दिनुको के अर्थ ? हामीले देख्यौं , अघिल्लो संबिधानसभामा नेपाली काँग्रेस बाट नरहरि आचार्य र गगन थापा पनि सभासद थिए , तर के उनिहरुले   आफ्नो    पार्टीको नीतिमा कुनै प्रभाव पार्न सके ? वा यसो भनौं के उनीहरुले  आफ्नो पार्टीको नीति भन्दा फरक गएर निर्णय गर्न सके ? यी दुइ त प्रतिनिधि पात्र मात्र हुन्।  यो जसका बिसयमा पनि लागु हुन्छ।
अतः मेरो बिचारमा हामीले भोट हाल्दा निम्न बिषयमा ध्यान पुर्याउन जरुरि छ -
१. प्रतिस्पर्धी पार्टीको नीति तथा चुनावी घोषणा वा प्रतिबद्धतापत्र।  किन कि कुनै पनि पार्टीले भोलि तेसैका आधारमा संबिधानसभामा भूमिका खेल्ने हो।  जस्तो नीति तेस्तै निर्णय हुन्छ भन्ने नभुलौं।
२. यदि हामी संघीयता , धर्मनिरपेक्षता र राज्य निर्माणको दूर दृष्टि का  आधारमा मतदान गर्न चाहन्छौं भने यस बिषयमा जुन पार्टीको अडान स्पस्ट लाग्छ तेसैलाई भोट हाल्नु पर्छ।
३. यदि हामी लोकतान्त्रिक स्थाइत्व चाहन्छौं भने ति पार्टीलाई भोट हालौं जो प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा छन्। संसदबाट चुनिने कार्यकारीको पक्षपोषण गर्ने पार्टीलाई रोज्नु भनेको यो मुलुकलाई  अस्थिरताको भुवरिमा पार्नु हो।  प्रत्यक्ष निर्वाचित कार्यकारीको वकालत गर्ने प्रमुख पार्टी भनेका एकिकृत माओबादी, एमाले , मधेसी जनअधिकार पार्टी नेपाल र नेमकिपा हुन्।
४. समानुपातिकमा भोट हाल्दा झनै विचार पुर्याउन जरूरी हुन्छ।  एक भोट त हो बिचरा यो पार्टीलाई हल्दिउन भन्न हुन्न।  उदाहरंका लागि- यदि  हामी गणतन्त्र ,  संघियता र धर्मनिरपेक्षताका पक्षपाती  हौँ भने हामीले राप्रपा नेपाललाई प्रत्यक्ष को कुरै छाडौं समानुपातिकमा पनि भोट दिनहुदैन।
४. प्रमुख राजनीतिक पार्टीहरुले हिजो गल्ति गरे भनेर राजतन्त्रको वोकालत गर्ने गाइछाप पार्टी लाई भोट दिनु भनेको  राजनीतिक हाराकिरी गर्नु हो।  मोटर चड्दा दुर्घटना हुन्छ भनेर के कोहि लामो यात्रा गोरुगाडामा गर्न चाहन्छन ? यो त इतिहासको पांग्रालाई पछाडि घचेड़ने  कदम ठहरिन्छ।  अस्तु।


Sunday, November 10, 2013

बहुमतको मांग र यथार्थ

संबिधानसभाको चुनाब जति जति नजिकिंदै छ प्रमुख राजनीतिक दलहरू मतदातासँग आफ्ना लागि बहुमतको मांग गर्न ज्यु ज्यानले लागेका छन्। यदि यो  पहिलो हुने निर्बाचित हुने पद्धति  हुँदो हो त कुनै एक दलले बहुमत ल्याउन सम्भव पनि हुन्थ्यो होला।  तर हामीले अपनाएको यति बेलाको निर्वाचन पद्धति त मिश्रित हो जसमा प्रत्यक्ष तर्फ २४० मात्र र समानुपातिक तर्फ ३३५ सिट छ।  यस्तोमा प्रत्यक्ष तर्फ त बहुमत ल्याउन सम्भव पनि होला तर समानुपातिकमा कहांबाट  बहुमत आउंछ ?
नेपालमा आजसम्म भएका चुनावमा सबैभन्दा ठुलो मतान्तरले भएको जित भनेको २०१५ सालको आम चुनावमा हो।  त्यस बेला नेपाली कांग्रेसले १०९ सदस्यीय प्रतिनिधि सभामा ७४ सिट जितेर दुइ तिहाई को आँकडा नघाएको थियो। तर तेस बेला पनि उसले चालिस प्रतिसत भन्दा निकै कम लोकप्रिय मत पाएको थियो।  त्यस बेला देखि यता जति पटक पनि आम चुनाव भयो कुनै दलले ३०+ भन्दा बढी लोकप्रिय मत ल्याएको छैन। धेरै परको कुरा किन गर्ने ? संबिधानसभाको पहिलो चुनावमा  प्रत्यक्ष तर्फ बहुमत ल्याउने माओबादीले पनि समानुपातिकमा १०० सिट नघाउन सकेन।
यी तथ्यहरुले चिच्याई चिच्याई के भनिरहेछन भने यो चुनावमा पनि कुनै दलको बहुमत आउनेवाला छैन।
 प्रश्न उठ्छ , के दलहरुलाई यो कुरा थाहा छैन ? अवश्य थाहा छ।  तर पनि उनीहरु मतदातासँग बहुमत माग्न बाध्य छन्।  किन कि प्रारम्भ मै बहुमत ल्याइन्न भनेर को चुनावमा जान्छ ?
एस पटक को चुनावी नतिजा पनि अघिल्लो झैं अप्रत्यासित हुनेवाला छ।  अतः राजनीतिक दलहरु जुनसुकै परिणामका लागि पनि मानसिक रूपमा तयार रहन जरुरी छ।  त्यति मात्र होइन , चुनाव पछि सहमति र सहकार्यका लागि पनि तयार रहन जरुरि छ।  जे मा पनि बिदेशीको हस्तक्षेप र सड्यन्त्र देख्ने नकारात्मक सोचबाट पनि माथि उठ्न पर्छ।
म त भन्छु - यो चुनावले संबिधान निर्माणको मार्ग प्रशस्त त गर्नेनै छ , साथ साथै लिकबाट उत्रेको राजनीतिलाई पनि लिकमा ल्याउने छ।  नया बन्ने सरकारले बैधता पाउनेछ  र जनादेशमा आधारित राजनीतिक प्रक्रिया प्रारम्भ हुनेछ।  आज यो यथार्थबाट मुन्टो फर्काएर को बस्न सक्ला र ?

Wednesday, November 6, 2013

लोकतान्त्रिक स्थायित्वको पक्षमा

म कुनै शासकीय स्वरूपको निरपेक्ष  रुपमा समर्थक वा बिरोधि होइन। मलाई त यो मुलुकमा राजनीतिक स्थायित्व चाहिएको छ।  हो, मेरो सर्त के मात्रै छ भने व्यवस्था लोकतान्त्रिक चाहिं हुनैपर्छ। त्यसैले व्यवस्था चाहे संसदीय होस् वा राष्ट्रपतीय वा मिश्रित नै किन नहोस्  त्यतिबेला सम्म छु मतलब जबसम्म त्यसले राजनीतिक स्थायित्व दिन्छ।  तर हाम्रो अनुभवले के भन्छ भने हामीकहाँ संसदीय व्यवस्थाले राजनीतिक स्थायित्व दिनसकेन। त्रिशंकु संसद भएको बेलाको कुरै छाडौं एक दलको सुविधाजनक बहुमत आएको बेला पनि कुनै सरकारले पूर्ण कार्यकाल कामगर्न पाएन। अझ तेति बेला पहिलो हुने निर्वाचित हुने निर्वाचन पद्धती थियो।
अब त समानुपातिक निर्वाचन प्रणाली पनि छ।  येस्तोमा कुनै राजनीतिक दलको एकलौटी बहुमत आउने कुरा त अब सपनामा पनि न चिताए हुञ्छ।  परिणामस्वरूप यदि नया बन्ने संबिधानमा संसदीय शासन प्रणाली अपनाउन पुगियो भने यो मुलुक निरन्तरको राजनीतिक अस्थिरताको भासमा  जाकिन पुग्छ र त्यहि नै भोलि निरंकुशताको स्रोत बन्न सक्छ।
आज यो मुलुकलाई त्यस्तो साशन प्रणाली चाहिएको छ जसले एक कार्यकाल सम्म एउटा अजेंडामा काम गर्न पाओस्। जुन शासन प्रणालीले जनताबाट सोझै निर्वाचित हुने कार्यकारीको व्यवस्था गर्छ त्यसैले यो मुलुकमा रहेको निरन्तरको राजनीतिक अस्थिरताको अन्त गर्न सक्छ.
एतिबेला येमाओबादी , एमाले, फोरम नेपाल र नेमकिपा नै ती प्रमुख दल हुन् जसले विभिन्न स्वरूपका भए पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताब गरेका छन्।  यदि निर्वाचन पछि यिनले गृहकार्य गर्न सके भने कुनै स्वरूपको भए पनि प्रतक्ष निर्वाचित कार्यकारी भएको शासन प्रणाली सम्भव हुञ्छ. . प्रत्यक्ष निर्वाचित कार्यकारी ले निरंकुशता निम्तिन्छ भन्नु  सरासर गलत हो।  निरंकुशता आउनु पर्यो भने संबिधान को धारा हेरेर वा समाएर आउदैन।  न सत्र सालमा तेसरी आयो न अन्थवन सालमा तेसरी आयो।
लोकतान्त्रक स्थायित्व  प्रतक्ष निर्वाचित कार्यकारी ले मात्र दिन सक्छ।  त्यसै ले भोट हाल्दा मतदाताले यो कुरामा विचार गर्ने पर्छ। .

Saturday, August 24, 2013

बामपन्थी सहकार्यले उघार्नसक्ने सम्भावनाको क्षीतिज



कृष्ण पोखरेल

कुनै बेला १०९ सदस्यीय प्रतिनिधिसभामा ४ सीटमा सीमित कम्युनिष्ट पार्टी गत संविधानसभाको निर्वाचनमा कूल सीटको झण्डै त्रिसठ्ठी प्रतिशत  जित्न सफल भयो । हुन त पछिल्लो तथ्याङ्क कुनै एक कम्युनिष्ट पार्टीको नभै सो नाम वा विचारधारी पार्टीहरुले प्राप्त गरेको सीटको कूल योग हो । यो बेग्लै कुरा हो कि तिनले छुट्टा छुट्टै नलडी चुनावी तालमेल मात्र गरेका भए यो आँकडा अझ उकालो लाग्थ्यो होला । तर यतिबेला त्यता नलागौं किन कि यति  तथ्याङ्क नै भन्न खोजिएको कुरा पुष्टिगर्न पर्याप्त छ ।
सत्र साल भन्दा अघि सम्म नेपाली कम्युनिष्टहरु संसदवादी मार्गबाट जनअधिकार र राष्ट्रियताका लागि लड्ने बाटो मै सीमित थिए । यिनले नेपाली समाजको ठोस विश्लेषण गरेर त्यससंग सुहाउँदो क्रान्तिको मार्ग पैलाउन सकेका थिएनन् । यस दिशामा पहिलो सार्थक प्रयास २०२८ सालमा प्रारम्भ भएको झापा आन्दोलनले ग¥यो । यो बेग्लै कुरा हो कि यो प्रयास भारतको नक्सलवादी आन्दोलनको देखासिखी थियो । तर पनि समाज परिवर्तनका लागि हतियारबन्द संघर्षको साहसिक प्रयोग यहींबाट थालियो । कसरी ग्रामीण सत्ता कब्जा गर्ने र त्यसका मार्फत सहरी र अन्ततः केन्द्रिय सत्ता कब्जा गर्ने भन्ने एउटा मार्गचित्र कोरिएको थियो । समयक्रममा यसले घरि जनमत संग्रह बहिष्कार गर्ने त घरि पंचायती चुनाउको जनपक्षीय उपयोग गर्ने जस्ता युक्ति अबलम्बन गर्दै अनेक नाङ्लो पसलमा विभाजित नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार बन्न पुग्यो । छयालीस साल आइपुग्दा नपुग्दै  यही शक्ति बामपन्थी कोणबाट नेपालको लोकतान्त्रिक आन्दोलनको निर्णायक शक्ति बन्न पुग्यो । पन्ध्र सालको चार सीट ६९सम्म पुग्नु र केही पछि ८९ सीट जितेर संसदमा सवैभन्दा ठूलो दल बनेर अल्पमतको भए पनि पहिलो कम्युनिष्ट सरकार बनाउने हैसियत आर्जन गर्ने विउशक्ति भनेको त्यही झापा आन्दोलनको विकास र निरन्तरता थियो । तर राज्यशक्तिको चास्नीमा परे पछि भने यो विस्तारै परिवर्तनको शक्ति भन्दा   सत्ताको लुछाचुँडीमा निमग्न यथास्थितिवादी पार्टीमा रुपान्तरित भयो  ।
त्यस पछिको सशक्त कम्युनिष्ट धार भनेको माओजे दोङको नौलोजनवादी क्रान्तिमा विश्वास गरेर अघि बढेको नेकपा माओवादीको जनयुद्धवादी धार हो । २०५२मा प्रारम्भ हँुदा  बेमौसमको राग जस्तो लाग्ने यो सशस्त्र आन्दोलन हेर्दा हेर्दै यसरी संग्रालियो कि बासठ्ठी त्रिसठ्ठीको जनआन्दोलन सम्म आइपुग्दा मुलुकको निर्णायक राजनीतिक शक्तिका रुपमा प्रकट भयो र संविधान सभाको पहिलो पार्टी बन्न सफल भयो । अनेक उकाली ओह्राली पार गर्दै अन्ततः यस्ले पनि जनयुद्धका माध्यमबाट प्राप्त गर्न खोजेको लक्ष शान्तिवार्ताका माध्यमबाट शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेरै पनि प्राप्त गर्न सकिने ठहर गरेर हतियार विसायो । त्यसको प्रभाव मुलुकमा प्रष्टै देखिन्छ । समकालिन नेपालको राजनीति जुन जुन कार्यसूचीका वरिपरि घुमिरहेको छ ती सवै माओवादीकै कार्यसूची हुन् ।
मुलुकको राजनीतिक परिस्थितिको सही आंकलन गर्न नसक्दा निर्णायक शक्ति हुने अवस्थाका दक्षिणपूर्व एसियाका मलाया, बर्मा, फिलिपिन्स र इन्डोनेसियाका कम्युनिष्ट आन्दोलनहरु  तितर वितर र छिन्नभिन्न भएका उदाहरण हाम्रै सामू छन् । यस्तोमा सम्पूर्ण संगठनलाई शान्तिपूर्ण बाटोमा ल्याउन सक्नु र राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बन्नु माओवादी नेतृत्वको अत्यन्त सुझबुझपूर्ण सोच  हो भनी मान्न करै लाग्छ ।
सम्भावनाको हिसाबले भन्ने हो आज विश्वमा कुनै एक मुलुकमा निर्वाचनका माध्यमबाट कम्युनिष्टहरुले चाहेको परिवर्तनको कार्यसूचीलाई सम्बोधन गर्न सकिन्छ भने त्यो मुलुक नेपाल नै हो । यहाँका जनताको जुन हद सम्म बामपन्थीकरण भएको देखिन्छ र कम्युनिष्टहरुले प्रस्तुत गर्ने परिवर्तनका कार्यसूची प्रति जनतामा जुन स्तरको विश्वास देखिन्छ त्यसलाई पूँजिकृत गर्न सक्ने हो भने यो मुलुकमा निर्वाचन कै माध्यमबाट सजिलै कम्युनिष्ट सरकार स्थापित गर्न सकिन्छ । सरकार स्थापित मात्र गर्ने होइन जनसशक्तिकरणको लक्ष तर्फ पनि अग्रसर हुन सकिन्छ । यहाँ म जनसशक्तिकरण किन भनिरहेछु भने  मेरो विचारमा कार्लमाक्र्सले अघि सारेको शोषणविहिन समाजको सार  भनेकै पनि जनसशक्तिकरणको उच्चतम अवस्था हो । त्यो भन्दा पर अरु केही होइन ।
यो अकूत सम्भावना देख्दा देख्दै माउ पार्टीबाट छुट्टिएर बैद्यजीहरुले जनयुद्धको उपलव्धिमा टेकेर जनविद्रोहको लाइन लिनु भनेको कुनै पनि हिसाबले बुद्धिमत्तापूर्ण हुनसक्दैन । कुनै मुलुकको क्रान्तिलाई हुबहू अनुकरण गर्नु भनेको जडसूत्रताको पराकाष्ठा हो । यहाँ न रुसको जस्तो सशस्त्र विद्रोह सम्भब छ न चीनको जस्तो दीर्घकालिन जनयुद्ध नै अब सम्भव छ । नेपालकै ठोस बस्तुस्थितिको ठोस विश्लेषण गर्ने हो भने अब शान्तिपूर्ण मार्गबाटै आज सम्मका जन आन्दोलन र जनयुद्धका मार्फत प्राप्त गर्न खोजिएका  लक्षहरु  प्राप्त हुन सम्भव छ । निर्वाचनमा पनि भाग नलिने र जनयुद्धमा पनि पुनः फर्कन नसक्ने यता न उताको अवस्थामा रहनु भनेको प्रष्ट देखिएका सम्भावनाहरुलाई तुहाउनु हो । मलाइ थाहा छ हरेक क्रान्तिकारी पार्टीमा केही यस्ता पात्र हुन्छन् जो कि त बाङमिङ जस्ता डेढअक्कली क्रान्तिकारी हुन्छन् कि त रोविन हुड जस्ता हुन्छन् । त्यस्ताले उग्र  क्रान्तिकारिताका माध्यमबाट क्रान्तिको होइन क्रान्ति विरोधीहरुको सेवा गरिरहेका हुन्छन् । यो संगीन मोडमा नेकपा(माओवादी) ले के सोच्न जरुरी छ भने कहिं यो पार्टी पनि यही मनोविज्ञानको शिकार त भइरहेको छैन ?
रह्यो एमालेको कुरा । त्यस पार्टी भित्र पनि माथि देखि तल सम्म परिवर्तनका पक्षधरहरु प्रशस्तै  छन् । अतः यसलाई पनि बिपीको समाजवाद भन्दा धेरै टाढा पुगिसकेको नेपाली कांग्रेसको सहयोगी बन्ने मार्गबाट बाहिर ल्याउन जरुरी छ । अब एमालेले भन्ने गरेको जनताको बहुदलीय जनवाद र एकिकृत माओवादीले अपनाएको बहुदलीय जनवाद बीच त्यति ठूलो खाडल पनि देखिन्न । यस्तोमा एकीकृत माओवादी , एमाले र बैद्यपक्षीय माओवादीले चुनावी सहकार्य मात्र गरे पनि संविधानसभामा प्रचण्ड बहुमत ल्याउन सक्छन् । त्यसो हुन सक्यो भने संविधानसभालाई जनपक्षीय लोकतन्त्र र परिवर्तनको बाहक बनाउन सकिन्छ । संविधान पनि लेखिन्छ र मुलुकमा जनसशक्तिकरणको कार्यसूचीलाई सहजै कार्यान्वयन  पनि गर्न सकिन्छ ।
 हतमा आएको एउटा चरा छाडेर बनका नौ चरा तर्फ लाग्न खोज्ने बैद्य माओवादी ,एमाओवादीसंग जुँगाको लडाइँमा रमाउने एमाले र विभाजनको क्षतिपूर्तिका लागि दस तिर भौंतारिरहेको एकीकृत माओवादीले एक अर्कालाई हेर्ने आफ्नो बर्तमान नीतिमा गंभीर पुनरावलोकन गर्न जरुरी छ । यिनले आपसमा मुठभेडको होइन लचकतापूर्ण सहकार्यको हात बढाउन सक्नुु पर्छ । क्षीतीजमा देखिएको लालिमा सूर्योदयको सूचक त हो तर बुद्धि पु¥याइएन भने अहम्को कालो वादलले सम्भावनाको उघ्रिन थालेको क्षीतिजलाई सदाका लागि अन्धकारमा बदल्न सक्छ । आफ्नो त देखेको कुरा भन्ने सम्म काम हो । तीनै दलका नेताहरु स्वयं जानिफकार छन् । आगे उनीहरु कै मर्जी ।

Monday, June 10, 2013

निर्वाचन गर्ने हो भने
कृष्ण पोखरेल
यति बेला नेपाललाई यो राजनीतिक गञ्जागोलबाट साँच्चै बाहिर निकाल्ने हो भने निर्वाचनको विकल्प नै छैन । यसैले लीकबाट उत्रेको लोकतान्त्रिक प्रकृयालाई पुनः लीकमा ल्याउन सक्छ । पार्टीहरुलाई आफ्नो लोकप्रियताको मापन गर्ने र शासन गर्ने अवसर दिन सक्छ । र संविधान निर्माणको बाँकि कामलाई टुङ्गोमा पु¥याउन मद्दत गर्नसक्छ । अतः यस बेला गर्नै पर्ने  प्रमुख कार्यहरु के हुन् तिनको किटान गर्ने र ती काम पूरा गर्ने तर्फ लाग्नै पर्छ । नत्र भने असारमा जस्तै मंगसिरमा पनि निर्वाचन हुन सक्दैन ।
पहिलो कुरा, निर्वाचन सुनिश्चित नहुन्जेल बर्तमान सरकारका जन्मदाता पार्टी र मोर्चाले आफूहरुले नै गरेको सहमति र लिएका निर्णयहरुको स्वामित्व लिन तयार हुनु पर्छ । हो, आपसी अविश्वासको ब्यवस्थापनका लागि आफूलाई मन नपरेका कतिपय विषय यिनमा परेका होलान् तर त्यसो भयो भन्दैमा पूर्व सहमति वा निर्णयका विरुद्धमा सार्वजनिक अभिव्यक्ति दिने काम यिनले तत्काल बन्द गर्नुपर्छ । बाधा अड्काउ फुकाउने सन्दर्भमा आफैले संविधान संशोधन गरेर प्रधानन्यायाधीशलाई चुनावी मन्त्रिपरिषद्को अध्यक्ष बनाउने प्रावधान राख्ने र अहिले केही क्षेत्रवाट यस्को विरोध भयो भन्दैमा मन्त्रिपरिषद्का अध्यक्षले प्रधानन्यायाधीशबाट राजीनामा गर्नुपर्छ भन्दै हिंड्नु हास्यास्पद माग ठहर्छ । किन कि संविधानतः खिलराज रेग्मीले प्रधान न्यायाधीशबाट राजीनामा गरे भने उनी मन्त्रि परिषदको अध्यक्षबाट स्वत पदमुक्त हुन्छन् र नयाँ प्रधान न्यायाधीशलाई  मन्त्रि परिषदको अध्यक्ष बनाउनुु पर्ने हुन्छ । आफैले सहमति गर्ने दल र तिनका नेताले यो बुझेका छन् कि छैनन् ?
दोस्रो कुरा, यो सरकार र तथाकथित चार दलीय सिण्डिकेटको को विरोध गर्ने पार्टीहरु मध्ये को निर्वाचनमा जाने हुन् को नजाने हुन् तिनलाई छुट्याएर ब्यवहार गर्न जरुरी छ । ती पार्टीहरु जो हिजोको चार दलीय सहमतिमा आफुहरुलाई सामेल नगराएका कारण रुष्ट छन् र निर्वाचन निष्पक्ष हुँदैन कि भन्ने आशंका गरिरहेका छन् तिनका मागको ब्यावहारिक समाधानको बाटो खोज्नु आवश्यक छ । हो, यिनीहरुसंगको वार्ताका दौरान उठेका बास्तविक आशंकाको समाधानका लागि आवश्यक परे हिजो बाधा अडकाउ फुकाउँदा संविधानमा समावेश गरिएका कुनै प्रावधानलाई पुनरावलोकन वा परिमार्जन गर्नुपर्छ भने पनि त्यसो गर्न तयार हुनु पर्छ । सदस्य संख्याका कुरा र थ्रेस होल्डका कुरा पनि विचार गर्न सकिएला । तर पुनः संविधान संशोधन पनि गर्ने अनि असंतुष्ट दलहरु निर्वाचनमा पनि सामेल नहुने अवस्था आयो भने त्यो त बिल्कुलै नकाम ठहरिन्छ । मलाइ लाग्छ, ढंग पु¥याएर वार्ता ग¥यो र निर्वाचनको वातावरण बनाउन ब्यावहारिक निर्णयहरु गर्न सक्यो भने उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम मात्र होइन उन्को नेतृत्वको मोर्चा र अशोक राइ नेतृत्वको संघीय समाजवादी पार्टी निर्वाचनमा भागलिन तयार हुन्छन् । यस्को संकेत ती पार्टीहरुले निर्वाचन आयोगमा दर्ता गरेर दिइ नै सकेका छन् ।
तेस्रो कुरा, नेकपा(माओवादी)संग पनि निर्णायक वार्ता गरिनु पर्छ । उस्लाई के बताउन जरुरी छ भने रेग्मी नेतृत्वको चुनावी सरकारको बहिर्गमन कुनै वार्ताको पनि पूर्वशर्त हुन सक्दैन । त्यस बाहेक अरु विषयहरुमा विचार गर्न सकिन्छ । तर यस सन्दर्भमा उक्त पार्टीले पनि आफू निर्वाचनमा भाग लिने विषयमा गंभीर हो होइन प्रष्ट पार्न जरुरी छ । किन कि ती पार्टीहरु जो निर्वाचनमा विश्वास गर्छन् तिनले कमसे कम निर्वाचन आयोगमा दल दर्ता गरेर आफ्नो अभिप्राय प्रष्ट पार्नु पर्छ । जस्तो कि आन्दोलन मै भएका उपेन्द्र यादव र अशोक राइका पार्टीहरुले गरेका छन् ।  निर्वाचनमा भाग लिन नचाहने र आन्दोलनको धम्की पनि दिइरहने अवस्था हो भने निर्वाचनलाई  तिनको रणनीतिको बन्धक बन्न दिनु हुँदैन । निर्वाचनको प्रक्रिया तिनलाई छाडेर अगाडि बढाउन समेत तयार हुनुपर्छ ।
चौथो कुरा, नेकपा(माओवादी)को पछि लागेका दलहरुलाई पनि एक पटक गंभीरतापूर्वक वार्तामा बोलाउनुपर्छ । उनीहरुलाई के कुराको अनुभूति दिलाउन जरुरी छ भने के उनीहरु पनि माओवादी रणनीतिको अंग बन्न चाहेका हुन् कि निर्वाचनद्वारा जनअनुमोदित हुन चाहन्छन् ? त्यसका लागि सरकारको बहिर्गमन र संविधान सभाले मात्र पूरा गर्न सक्ने माग बाहेकका विषयमा लचिलो भै प्रस्तुत हुन  तयार रहन सक्नु पर्छ ।
पाँचौं कुरा, विरोधमा उत्रेका सवैको प्रहारको निसानामा चार दलीय राजनीतिक संयन्त्र छ । अतः यस विषयलाई प्रतिष्ठाको विषय बनाउनु भन्दा पुनरावलोकन गर्न समेत तयार हुनुपर्छ । मलाइ लाग्छ, यो सरकार माथिको सरकार होइन । यस्ले सरकारमाथि हस्तक्षेपको झल्को आउने किसिमको भूमिका खेल्छ कि भन्ने सवैलाई डर छ । त्यसैले पहिले त यस संयन्त्रको भूमिकालाई प्रष्टसंग परिभाषित गर्नु प¥यो । मेरो विचारमा यो सरकार माथिको सरकार होइन सरकारको सहजकर्ताको रुपमा मात्र रहनु पर्छ । सरकारले निर्वाचन प्रयोजनका लागि मागेको सहयोग बाहेक अरु कुराका यो लाउके भइ अघि सर्न हुन्न । यो स्थायी संयन्त्र भन्दा पनि अनौपचारिक संरचनाका रुपमा रहनुपर्छ । यस्मा चार दल बाहेक चुनावी प्रक्रियामा भागलिने अन्य केही दलका नेतालाई पनि सामेल गर्नु पर्छ । धेरै साना दल वा समूहका प्रतिनिधिलाई आलो पालो स्थान दिने व्यवस्था गरे हुन्छ ।
प्रश्न उठ्न सक्छ, माथि भनिएका काम कस्ले गर्ने ? मेरो विचारमा आवश्यकता अनुसार यो काम गर्न सरकार र चार दलीय संयन्त्र दुवै अग्रसर हुनुपर्छ । सरकार र चार दलीय संयन्त्रसंग वार्ता गर्न समेत तयार नहुनेका हकमा संयन्त्र भित्रका जुन दलले अग्रसरता लिए पनि हुन्छ । हाम्रो उद्देश्य निर्वाचनलाई सम्भब बनाउने हो, त्यो काममा कस्ले पहल ग¥यो भन्ने कुुरा त गौंड हो । तर त्यसो गर्दा जस्ले पनि के विचार गर्नु पर्छ भने तिनका कार्य वा ब्यवहारले राजनीतिक वातावरण नखल्बलियोस् । यति बेला ठूला दल र मोर्चाले एक अर्कालाई खुइल्याउने वा आपसमा अविश्वास उत्पन्न हुने कुनै काम गर्ने होेइन । त्यो त मुलुक साँच्चै चुनावमा गइसके पछिको प्रचार प्रसारको खोराकका लागि बाँकि राखे भइ गयो नि ।

Sunday, March 17, 2013

नकारात्मक सोचभन्दा माथि उठौं

कृष्ण पोखरेल
यति बेला नेपालका प्रमुख राजनीतिक दलहरुले आपसी अविश्वासको व्यवस्थापन गर्न सम्झौताको जुन प्याकेज बनाएर र कार्यान्वयन गरे त्यसबाट म खुशी छु । यस्को मतलब मेरो  चाहना नै यही थियो भन्ने  होइन । बास्तवमा मेरो पहिलो चाहना त डा. बाबुराम भट्टराइ कै सरकारद्वारा निर्वाचन सम्पन्न होस् भन्ने थियो किन कि यो भन्दा भिन्न लोकतान्त्रिक तरिका संसारका अन्य कुनै नामूद लोकतान्त्रिक व्यवस्थाले पनि दिन सकेका छैनन् । तर हामी कहा“ यो आफुलाई अतिलोकतान्त्रिक भन्ने राजनीतिक दलहरुले नै मान्न इनकार गरे । त्यस पछि के के भयो त्यो अब नखोतलौं । कुरा कति मात्रै हो भने एक अर्काको नेतृत्वमा बन्ने सरकारमा एक अर्कालाई विश्वास नभए पछि खोज्ने भनेकै सवैलाई विश्वास हुने नेतृत्व हो । त्यसमा यदि प्रधानन्यायाधीश नै विश्वासको पात्र परे भने आपसी अविश्वास ब्यवस्थापनको यो भन्दा उत्तम विकल्प अरु किन खोज्ने ?
एक थरि विरोध गर्नेलाई लाग्छ कि यो पकवान अन्तै पकाइयो र हाम्रो सामू पस्किने काम भयो । पहिलो कुरा त के भने जेमा पनि विदेशीको षडयन्त्र देख्ने मानसिकताबाट हामी माथि उठ्न जरुरी छ । दोस्रो, बाहिरैबाट आएको हो भने पनि यदि त्यसले हाम्रो भलो गर्छ भने किन यत्रो कोकोहोलो गर्नु ? यस विषयमा प्रतिपक्षी दलहरु पनि चुकेकै हुन् । किन भने तिनले पनि सरकारको विरोध गर्ने नाममा यो तर्कलाई अनावश्यक रुपमा बढावा दिए ।  अर्का थरिलाई यसमा पनि एमाओवादीको षडयन्त्र भएजस्तो लाग्छ ।  जेमा पनि माओवादी षडयन्त्र देख्ने र भयातुर हुनेहरुको विरोधको कुनै तुक छैन किन कि तिनको यो भयको तत्काल कुनै औषधि छैन ।
तेस्रा थरिलाई अब न्यायपालिका पनि ध्वस्त हुने भो भन्ने भय छ र ती बारम्वार शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको हवाला दिंदै विरोधमा उत्रेका छन् । हामीले के बुझ्न जरुरी छ भने एक जना प्रधानन्यायाधीश चुनावी सरकारको प्रमुख हु“दैमा ध्वस्त हुने किसिमले कमजोर छैन हाम्रो न्यायपालिका । र त्यस्तो हुनेवाला पनि छैन ।
चौथा थरि विरोध गर्ने कोटिमा कालाकोटधारीहरु पर्छन् । तिनलाई त यो प्रयोगले पहाडै खस्छ जस्तो लागेको छ । अतः ती आºना कानुनका किताबमा भए जतिका सवै अस्त्र प्रयोग गरेर यो कदमलाई असंवैधानिक भन्न तम्सिएका छन् । भएको कानुनका आधारमा बोल्नेहरु कानुन फेरेर पनि प्रयोग हुन्छ भन्ने कुरामा सायद विश्वास गर्न सकिरहेका छैनन् । तिनले बुझ्नुपर्ने कुरा के हो भने संवैधानिक र राजनीतिक क्षेत्रमा आजका कैयौं स्थापित सिद्धान्त र मान्यता प्रारम्भ ह“ुदा पहिलो पटक नै भएका थिए ।
दलीय ब्यवस्थामा दलबाहिरको सरकार बनेकाले राजनीतिक दलहरु असफल भएको संन्देश जानेभो भन्ने कारणबाट विरोध गर्नेहरु पनि छन् । तर यस प्रस¨मा हामीले बुझ्नुपर्ने कुरा के छ भने यो राजनीतिक दलहरुकै समहतिको उपज हो । र अब पनि राजनीतिक प्रक्रियामा तिनको अग्रणी भूमिका रहन्छ । यो नवोदित लोकतन्त्रमा आपसी अविश्वास ब्यवस्थापन गर्न केही फरक ढंगले बाङ्लादेशमा पनि अपनाइएकै परिपाटी हो । यस्ले के कुरा प्रष्ट पारेको छ भने दलहरु एक अर्काका नेतृत्वमा विश्वास गर्न असफल भएकै हुन् तर साथमा आपसी अविश्वास ब्यवस्थापन गर्न चाहिं ती  सफल भए ।
जहा“ सम्म साना राजनीतिक दलहरुको विरोधको कुरा छ तिनलाई पनि एक मुष्ट रुपमा बुझ्न हुन्न । ती मध्ये थुप्रै यस्ता दल छन् जस्लाई हिजो सत्तारुढ र प्रतिपक्ष्ँी दलहरुले आºनो स्वार्थका लागि प्रयोग गरे र सहमति गर्ने बेलामा चाहिं विश्वासमा लिएनन् ।  तिनको आक्रोस जायज छ र तिनलाई यो सहमति गर्ने दलहरुले राजनीतिक  संयन्त्रका माध्यमबाट सम्बोधन गर्नुपर्छ ।
जहा“ सम्म नेकपा माओवादीको कुरा छ , प्रथमतः उसले जनता सामू के प्रष्ट गर्न जरुरी छ भने उ निर्वाचनमा भाग लिन्छ कि लिंदैन । यदि त्यो निर्वाचनमा भाग नलिने दल हो भने त्यसले त जुन अवस्थामा पनि विरोध गर्ने नै भो । अझ निर्वाचनको सम्भावना देख्यो भने त विरोधको त्यसको स्वर झन चर्को हुने भो । यस्को मतलब त्यसको चासोलाई सम्बोधन गर्न हुन्न  भनेको होइन । सहमतिमा अघि बढेका राजनीतिक दलहरु नै अग्रसर भएर यी सवैका चासोहरुको सम्बोधन गर्नुपर्छ ।
यति बेला चुनावी सरकारले जनतामा के विश्वास दिलाउन सक्नुपर्छ भने यो सा“च्चै आºनो जिम्मेवारी बहन गर्न सक्षम छ । तर  सवैभन्दा ठूलो जिम्मेवारी त तीन ठूला दल र मधेशी मोर्चाको छ । ती मध्ये कतिपयले आफै आºनो संगठन भित्र र बाहिर यसरी बन्ने सरकारका विरुद्ध हिजो जनमत विगारेका छन् । अतः तिनले हिजो आफुले बिगारेको जनमतलाई लिकमा ल्याउनै पर्छ । साथै तिनले विरोधमा उत्रेका राजनीतिक दलहरुलाई अब यो राजनीतिक प्रक्रिया रोकिंदैन भन्ने  विश्वास दिलाउन सक्नुपर्छ ।
लाख कुराको एक कुरा के भने राजनीतिक दलहरुले विगतमा आफुलाई ठूलो देखाउन एक अर्काका विरुद्ध जुन नकारात्मक प्रचारवाजी गरेका छन् त्यसले जनतामा कसै प्रति भरोसा छैन । तिनको त्यो गुमेको भरोसालाई  पुनस्र्थापित गर्नु  यिनै दलहरुको दायित्व हो । यतिबेला पनि जनता फेरि यी राजनीतिक दलहरुले हाम्रो भरोसा तोड्दैनन् होला भनेर विश्वास गर्न सकिरहेका छैनन् । त्यसैले यी चार राजनीतिक शक्तिका सामू जनतालाई अब तिनको विश्वास आफुहरुबाट तोडिने छैन भनेर विश्वास दिलाउने ठूलो चुनौति छ । बास्तवमा आगामी दिनमा पनि थुप्रै राजनीतिक उतार चढाब आउन सक्छन् । त्यसबेला अहिले गरिएका सहमतिलाई दलगत लाभ हानि भन्दा माथि राखेर पालन गर्न यिनले तयार हुनै पर्छ । आपसी अविश्वासलाई चिरेर  निर्वाचनलाई सफल पार्न सके भने मात्र यिनले आºनो दायित्व निर्वाह गरेको ठहर्छ । किन कि विगतको अनुभवले के भन्छ भने धेरै हिसाब किताब र जोड घटाउन पछि मात्र पटक पटक सरेर संविधानसभाको निर्वाचन भएको थियो ।
राजनीतिक दलहरु आफु पनि नकारात्मक सोचबाट माथि उठे र जनतालाई पनि त्यस्तो सोचबाट बाहिर निकाल्न सफल भए भने यो चुनाब हुन्छ र  अवरुद्ध राजनीतिक प्रक्रियाले निकास पाउ“छ । किन कि चुनाब बाहेक राजनीतिक निकास दिने अन्य कुनै प्रामाणिक लोकतान्त्रिक प्रक्रिया छैन ।

Monday, January 28, 2013

दृष्टिकोण
यस्तै चालाले निस्केला त निकास ? पीडीएफ मुद्रण इमेल

कृष्ण पोखरेल

समस्या कहाँ छ अनि समाधान कहाँ खोजिँदै छ ? नेपालको वर्तमान राजनीतिक गतिरोधको उदेकलाग्दो पक्ष नै यही हो । जस्तो कि नेपाली छापा भन्छन्, राष्ट्रपतिसँगको भेटमा आन्दोलनरत दुई ठूला प्रमुख राजनीतिक दलका प्रमुख सुशील कोइराला र झलनाथ खनालले राष्ट्रपतिलाई ठोस कदम चाल्न अनुरोध गरे । कांगे्रस सभापति कोइरालाले म्याद दिएर सहमतिको सरकार गठनको आह्वान गर्न बन्द गरेकोमा गुनासोसमेत गरे । अर्कोतिर एमाले अध्यक्ष खनालले संक्रमणको यो अवस्थामा संविधानको धाराअनुसार भन्दा पनि विवेकसम्मत अभिभाकीय भूमिका खेल्न अनुरोध गरे । त्यति मात्र होइन, नेताद्वयले उनीहरूले भनेअनुसार गरे राष्ट्रपतिको कदममा आफूहरूको साथ र समर्थन रहने पनि बाचा दिए । प्रश्न उठ्छ, आखिर यो 'ठोस कदम' भनेको के हो ? र उनीहरूले दिने साथ र समर्थन भनेको के हो ?
उत्तर कहीँ न कहीँ नेताहरूकै कथनमा छ । सभापति कोइराला राष्ट्रपतिद्वारा धारा ३८ (१) बमोजिम सहमतीय सरकार गठनका लागि गरिएको पटक-पटकको आह्वानले यदि मूर्त रूप लिँदैन भने उनले धारा ३८ (२) बमोजिमको बहुमतीय सरकारको गठनका लागि आह्वान गर्नुपर्छ भन्ने चाहन्छन् । अर्कोतिर अध्यक्ष खनालको राष्ट्रपतिको अभिभावकीय कदमको आशय पनि त्यतैतिर लक्षित देखिन्छ । तर, के यही हो त समाधानको बाटो ?
पहिलो कुरा त के भने अन्तरिम संविधानले राष्ट्रपतिलाई सरकारको सल्लाहबेगर सिन्को भाँच्ने अधिकारसम्म पनि दिएको छैन । वस्तुतः राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि संंविधानका जुनजुन धारा उद्धृत गरेर आह्वान गरेका थिए, त्यो नै संविधानसम्मत थिएन । राष्ट्रपति संविधानका संरक्षक हुन् भनेको अधिकार होइन, राष्ट्राध्यक्षका रूपमा उनको सम्मान हो ।
हामीले भारतको संविधान हेर्‍यौँ भने त्यहाँ भारतको कार्यकारिणी अधिकार राष्ट्रपतिमा रहनेछ र उनले स्वयं वा आफ्ना मातहतका अधिकारीबाट त्यसको प्रयोग गर्नेछन् भन्ने लेखिएको छ । त्यति मात्र होइन, त्यस संविधानमा राष्ट्रपतिलाई सल्लाह दिनका लागि प्रधानमन्त्री प्रमुख रहेको एक मन्त्रिपरिषद् रहनेछ, जसको सल्लाहबमोजिम राष्ट्रपतिले काम गर्नेछ भन्ने पनि लेखिएको छ । शब्दलाई मात्र हेर्ने हो भने यस्तो प्रतीत हुन्छ, मानौँ भारतको राष्ट्रपति अमेरिकाको राष्ट्रपतिभन्दा शक्तिशाली छ । तर, यथार्थ के हो भने ऊ फगत संवैधानिक राष्ट्रपति हो र मन्त्रिपरिषद्को सल्लाहबेगर माखो पनि मार्न सक्दैन । नेपालको अन्तरिम संविधानले कार्यकारिणीभित्र त राष्ट्रपतिलाई राखेको छैन, अनि अधिकारका कुरा कहाँबाट आउँछ ? यस्तोमा राष्ट्रपतिलाई आफ्नो मनको चाहना पूरा गर्ने साधनका रूपमा प्रयोग गर्न खोज्नु दुर्भाग्यपूर्ण चाहना हुन जान्छ ।
भारतमा राष्ट्रपतिको कुनै सल्लाहकार छैन र पनि त्यत्रो ठूलो मुलुकको काम चलेकै छ । तर, नेपालमा सम्मानको प्रतीक तर अधिकारविहीन राष्ट्रपतिलाई यति धेरै सल्लाहकार किन चाहिने होला ? मलाई त यी घोषित र अघोषित सल्लाहकारले नै राष्ट्रपतिलाई असंवैधानिक कदम चाल्न र अलमल्याउन मद्दत गर्छन् जस्तो लाग्छ । अतः राष्ट्रपतिले संक्रमणकालका नाममा संविधानले नदिएको बाटो हिँड्ने कल्पना गर्नु वा हिँड्न दबाब वा उत्प्रेरणा दिनु दुवै अशोभनीय हो ।
दोस्रो कुरा, सहमतिको सरकार बनाऊ भनी पटक-पटक म्याद दिँदा पनि राजनीतिक दलले राष्ट्रपतिसमक्ष बाचा गर्ने तर सहमति नगर्ने अवस्थामा अब राष्ट्रपतिले के गर्ने त ? के अब कतिपय कांग्रेसजनले भनेझैँ धारा ३८ (२) बमोजिमको बहुमतीय सरकारमा जाने ? हामीले के बिर्सनु हुँदैन भने राष्ट्रपतिले सहमतिका लागि ठूला तीन दल र मधेसी मोर्चालाई मात्र आह्वान गर्ने र बोलाउने कुराकै पनि प्रशस्त आलोचना भइरहेछ । त्यसमा पनि फेरि व्यवस्थापिका-संसद्को अभावमा बहुमतीयको प्रक्रियामा प्रवेश गर्नुको संवैधानिक आधार र औचित्य कसरी स्थापित गर्न सकिन्छ ? कहाँको बहुमत र कसको बहुमत ? मानिलिउ“m, विघटित व्यवस्थापिका-संसद्को बहुमत भनिएला रे ! त्यसो हो भने त यही सरकार नै विघटित विधायिकाको बहुमतबाट बनेको सरकार छँदै छ । र फेरि, यदि बहुमतीयको बाटोमा जाने हो भने किन सहमतिका लागि मार्गप्रशस्त गर्न वर्तमान सरकारले ठाउँ छाड्नुपर्छ भन्नु ? संविधानको अक्षर र भावना दुवै सहमतीयको पक्षमा छ भने जुन समाधान निकाल्दा पनि त्यो त सहमतीय नै हुनुपरेन र ? र भावी सहमतिमा अहिलेका प्रतिपक्षीको मात्र सहमति चाहिने हो कि सत्तापक्षको पनि ?
तेस्रो कुरा, राष्ट्रपतिले अभिभावकीय भूमिका खेल्नुपर्‍यो भन्नुको अर्थ के हो ? यदि दलहरू बच्चा हुँदा हुन् र बरालिएका मात्र हुँदा हुन् त अभिभावकका रूपमा राष्ट्रपतिले कान निमोठेर बाटोमा ल्याउँदा हुन् । तर, यहाँ त बर्चोट आफ्नो सर्तमा बाहेक ज्यान जाला सहमति गर्दिनँ भनी खोँचे थापेर बसेका लाठे दल छन् । यस्तोमा कुन जादुको छडी घुमाएर राष्ट्रपतिले अभिभावकीय भूमिका खेल्ने ?
अन्तिम कुरा, राष्ट्रपतिसँगको भेटमा यी नेताले राष्ट्रपतिको कदममा हाम्रो साथ र समर्थन रहन्छ भनेका छन् । त्यसो हो भने राष्ट्रपतिले मिति नतोकी सहमतिका लागि आह्वान गरेका छन् । एकछिनका लागि यसैलाई राष्ट्रपतिको कदम ठानौँ । अब यदि यसमा साथ र समर्थन हुने हो भने त सहमतीय सरकारको निर्माणमा भूमिका खेलेर राष्ट्रपतिलाई साथ दिनुपर्ने होइन र ? अनि किन आन्दोलनको बाटो ?
वास्तविक समस्या दलहरूको सोचमा छ । तर, समाधान राष्ट्रपतिको कदमबाट खोजिँदै छ । जब त्यहाँबाट आफूले चाहेजस्तो समाधान निस्केन अनि आन्दोलनको बाटो अख्तियार गरिएको छ । जब कि न त वर्तमान गतिरोधको समाधान राष्ट्रपतिको ठोस कदम हो, न त आन्दोलन नै । आन्दोलनले त यसै धमिलो राजनीतिक वातावरणलाई अझ धमिलो पारिदिनेछ र त्यसको फाइदा कुनै तेस्रो पक्षले लिनेछ ।
तर पनि आन्दोलन तीर कमानबाट निस्किसकेको छ । यस्तोमा आन्दोलन होइन, सहमति गर भन्नु भनेको अरण्यरोदन ठहर्छ । अब आशा गराँै, यथाशीघ्र कुनै यस्तो बिन्दु आउनेछ, जहाँ सत्तापक्ष र विपक्ष दुवै सहमतिका लागि तयार हुनेछन् र राष्ट्रपतिबाट होइन, आफैँहरू 'ठोस कदम' चाल्न सफल हुनेछन् । थाहा छ, यो आशा विपरीतको आशा हो तर यतिवेला अरू के गर्न सकिन्छ र ?