कृष्ण पोखरेल
कुनै बेला १०९ सदस्यीय प्रतिनिधिसभामा ४ सीटमा सीमित कम्युनिष्ट पार्टी गत संविधानसभाको निर्वाचनमा कूल सीटको झण्डै त्रिसठ्ठी प्रतिशत जित्न सफल भयो । हुन त पछिल्लो तथ्याङ्क कुनै एक कम्युनिष्ट पार्टीको नभै सो नाम वा विचारधारी पार्टीहरुले प्राप्त गरेको सीटको कूल योग हो । यो बेग्लै कुरा हो कि तिनले छुट्टा छुट्टै नलडी चुनावी तालमेल मात्र गरेका भए यो आँकडा अझ उकालो लाग्थ्यो होला । तर यतिबेला त्यता नलागौं किन कि यति तथ्याङ्क नै भन्न खोजिएको कुरा पुष्टिगर्न पर्याप्त छ ।
सत्र साल भन्दा अघि सम्म नेपाली कम्युनिष्टहरु संसदवादी मार्गबाट जनअधिकार र राष्ट्रियताका लागि लड्ने बाटो मै सीमित थिए । यिनले नेपाली समाजको ठोस विश्लेषण गरेर त्यससंग सुहाउँदो क्रान्तिको मार्ग पैलाउन सकेका थिएनन् । यस दिशामा पहिलो सार्थक प्रयास २०२८ सालमा प्रारम्भ भएको झापा आन्दोलनले ग¥यो । यो बेग्लै कुरा हो कि यो प्रयास भारतको नक्सलवादी आन्दोलनको देखासिखी थियो । तर पनि समाज परिवर्तनका लागि हतियारबन्द संघर्षको साहसिक प्रयोग यहींबाट थालियो । कसरी ग्रामीण सत्ता कब्जा गर्ने र त्यसका मार्फत सहरी र अन्ततः केन्द्रिय सत्ता कब्जा गर्ने भन्ने एउटा मार्गचित्र कोरिएको थियो । समयक्रममा यसले घरि जनमत संग्रह बहिष्कार गर्ने त घरि पंचायती चुनाउको जनपक्षीय उपयोग गर्ने जस्ता युक्ति अबलम्बन गर्दै अनेक नाङ्लो पसलमा विभाजित नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार बन्न पुग्यो । छयालीस साल आइपुग्दा नपुग्दै यही शक्ति बामपन्थी कोणबाट नेपालको लोकतान्त्रिक आन्दोलनको निर्णायक शक्ति बन्न पुग्यो । पन्ध्र सालको चार सीट ६९सम्म पुग्नु र केही पछि ८९ सीट जितेर संसदमा सवैभन्दा ठूलो दल बनेर अल्पमतको भए पनि पहिलो कम्युनिष्ट सरकार बनाउने हैसियत आर्जन गर्ने विउशक्ति भनेको त्यही झापा आन्दोलनको विकास र निरन्तरता थियो । तर राज्यशक्तिको चास्नीमा परे पछि भने यो विस्तारै परिवर्तनको शक्ति भन्दा सत्ताको लुछाचुँडीमा निमग्न यथास्थितिवादी पार्टीमा रुपान्तरित भयो ।
त्यस पछिको सशक्त कम्युनिष्ट धार भनेको माओजे दोङको नौलोजनवादी क्रान्तिमा विश्वास गरेर अघि बढेको नेकपा माओवादीको जनयुद्धवादी धार हो । २०५२मा प्रारम्भ हँुदा बेमौसमको राग जस्तो लाग्ने यो सशस्त्र आन्दोलन हेर्दा हेर्दै यसरी संग्रालियो कि बासठ्ठी त्रिसठ्ठीको जनआन्दोलन सम्म आइपुग्दा मुलुकको निर्णायक राजनीतिक शक्तिका रुपमा प्रकट भयो र संविधान सभाको पहिलो पार्टी बन्न सफल भयो । अनेक उकाली ओह्राली पार गर्दै अन्ततः यस्ले पनि जनयुद्धका माध्यमबाट प्राप्त गर्न खोजेको लक्ष शान्तिवार्ताका माध्यमबाट शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेरै पनि प्राप्त गर्न सकिने ठहर गरेर हतियार विसायो । त्यसको प्रभाव मुलुकमा प्रष्टै देखिन्छ । समकालिन नेपालको राजनीति जुन जुन कार्यसूचीका वरिपरि घुमिरहेको छ ती सवै माओवादीकै कार्यसूची हुन् ।
मुलुकको राजनीतिक परिस्थितिको सही आंकलन गर्न नसक्दा निर्णायक शक्ति हुने अवस्थाका दक्षिणपूर्व एसियाका मलाया, बर्मा, फिलिपिन्स र इन्डोनेसियाका कम्युनिष्ट आन्दोलनहरु तितर वितर र छिन्नभिन्न भएका उदाहरण हाम्रै सामू छन् । यस्तोमा सम्पूर्ण संगठनलाई शान्तिपूर्ण बाटोमा ल्याउन सक्नु र राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति बन्नु माओवादी नेतृत्वको अत्यन्त सुझबुझपूर्ण सोच हो भनी मान्न करै लाग्छ ।
सम्भावनाको हिसाबले भन्ने हो आज विश्वमा कुनै एक मुलुकमा निर्वाचनका माध्यमबाट कम्युनिष्टहरुले चाहेको परिवर्तनको कार्यसूचीलाई सम्बोधन गर्न सकिन्छ भने त्यो मुलुक नेपाल नै हो । यहाँका जनताको जुन हद सम्म बामपन्थीकरण भएको देखिन्छ र कम्युनिष्टहरुले प्रस्तुत गर्ने परिवर्तनका कार्यसूची प्रति जनतामा जुन स्तरको विश्वास देखिन्छ त्यसलाई पूँजिकृत गर्न सक्ने हो भने यो मुलुकमा निर्वाचन कै माध्यमबाट सजिलै कम्युनिष्ट सरकार स्थापित गर्न सकिन्छ । सरकार स्थापित मात्र गर्ने होइन जनसशक्तिकरणको लक्ष तर्फ पनि अग्रसर हुन सकिन्छ । यहाँ म जनसशक्तिकरण किन भनिरहेछु भने मेरो विचारमा कार्लमाक्र्सले अघि सारेको शोषणविहिन समाजको सार भनेकै पनि जनसशक्तिकरणको उच्चतम अवस्था हो । त्यो भन्दा पर अरु केही होइन ।
यो अकूत सम्भावना देख्दा देख्दै माउ पार्टीबाट छुट्टिएर बैद्यजीहरुले जनयुद्धको उपलव्धिमा टेकेर जनविद्रोहको लाइन लिनु भनेको कुनै पनि हिसाबले बुद्धिमत्तापूर्ण हुनसक्दैन । कुनै मुलुकको क्रान्तिलाई हुबहू अनुकरण गर्नु भनेको जडसूत्रताको पराकाष्ठा हो । यहाँ न रुसको जस्तो सशस्त्र विद्रोह सम्भब छ न चीनको जस्तो दीर्घकालिन जनयुद्ध नै अब सम्भव छ । नेपालकै ठोस बस्तुस्थितिको ठोस विश्लेषण गर्ने हो भने अब शान्तिपूर्ण मार्गबाटै आज सम्मका जन आन्दोलन र जनयुद्धका मार्फत प्राप्त गर्न खोजिएका लक्षहरु प्राप्त हुन सम्भव छ । निर्वाचनमा पनि भाग नलिने र जनयुद्धमा पनि पुनः फर्कन नसक्ने यता न उताको अवस्थामा रहनु भनेको प्रष्ट देखिएका सम्भावनाहरुलाई तुहाउनु हो । मलाइ थाहा छ हरेक क्रान्तिकारी पार्टीमा केही यस्ता पात्र हुन्छन् जो कि त बाङमिङ जस्ता डेढअक्कली क्रान्तिकारी हुन्छन् कि त रोविन हुड जस्ता हुन्छन् । त्यस्ताले उग्र क्रान्तिकारिताका माध्यमबाट क्रान्तिको होइन क्रान्ति विरोधीहरुको सेवा गरिरहेका हुन्छन् । यो संगीन मोडमा नेकपा(माओवादी) ले के सोच्न जरुरी छ भने कहिं यो पार्टी पनि यही मनोविज्ञानको शिकार त भइरहेको छैन ?
रह्यो एमालेको कुरा । त्यस पार्टी भित्र पनि माथि देखि तल सम्म परिवर्तनका पक्षधरहरु प्रशस्तै छन् । अतः यसलाई पनि बिपीको समाजवाद भन्दा धेरै टाढा पुगिसकेको नेपाली कांग्रेसको सहयोगी बन्ने मार्गबाट बाहिर ल्याउन जरुरी छ । अब एमालेले भन्ने गरेको जनताको बहुदलीय जनवाद र एकिकृत माओवादीले अपनाएको बहुदलीय जनवाद बीच त्यति ठूलो खाडल पनि देखिन्न । यस्तोमा एकीकृत माओवादी , एमाले र बैद्यपक्षीय माओवादीले चुनावी सहकार्य मात्र गरे पनि संविधानसभामा प्रचण्ड बहुमत ल्याउन सक्छन् । त्यसो हुन सक्यो भने संविधानसभालाई जनपक्षीय लोकतन्त्र र परिवर्तनको बाहक बनाउन सकिन्छ । संविधान पनि लेखिन्छ र मुलुकमा जनसशक्तिकरणको कार्यसूचीलाई सहजै कार्यान्वयन पनि गर्न सकिन्छ ।
हतमा आएको एउटा चरा छाडेर बनका नौ चरा तर्फ लाग्न खोज्ने बैद्य माओवादी ,एमाओवादीसंग जुँगाको लडाइँमा रमाउने एमाले र विभाजनको क्षतिपूर्तिका लागि दस तिर भौंतारिरहेको एकीकृत माओवादीले एक अर्कालाई हेर्ने आफ्नो बर्तमान नीतिमा गंभीर पुनरावलोकन गर्न जरुरी छ । यिनले आपसमा मुठभेडको होइन लचकतापूर्ण सहकार्यको हात बढाउन सक्नुु पर्छ । क्षीतीजमा देखिएको लालिमा सूर्योदयको सूचक त हो तर बुद्धि पु¥याइएन भने अहम्को कालो वादलले सम्भावनाको उघ्रिन थालेको क्षीतिजलाई सदाका लागि अन्धकारमा बदल्न सक्छ । आफ्नो त देखेको कुरा भन्ने सम्म काम हो । तीनै दलका नेताहरु स्वयं जानिफकार छन् । आगे उनीहरु कै मर्जी ।
No comments:
Post a Comment