Thursday, June 2, 2016

काँध थाकेको छैन रे


भद्र सहमतिको कुरा उठ्दा प्रधानमन्त्री केपीओलीले त्यसलाई ठाडै इन्कार गरे । उनको प्रत्याक्रमण थियो– छ भने कागज देखाओ । हैट भद्र सहमतिको पनि कागज हुन्छ र भन्या ? आफूले पनि नेपाली कांग्रेससँगको १६ बुँदे सहमतिका सिलसिलामा भएको भद्रसहमतिको कुरा गर्छन् त उनी पनि । कांग्रेसले अरु जे भने पनि छ भने कागज देखाओ सम्म त भनेको छैन नि । भद्र सहमतिको कागज खोई भन्नु पनि स्वयंमा हास्यास्पद र अभद्र भएन ?अझ प्रधानमन्त्री ओली त आफ्नो काँध अझ थाकेको छैन पो भन्छन् । इतिहास पढेका छैनन् कि उनले ? नेपालमा कुन चाहिं प्रधानमन्त्रीले मेरो काँध थाक्यो म छाड्छु भनेको छ आज सम्म ? कि कसैले तपाईँको काध थाक्यो होला छाड्नुस् भन्या छ कसैले ? भीमसेन थापा देखि आज सम्मका प्रधानमन्त्रीहरुको इतिहास हेरौं न । उनी जेलमै सेरिएर मरे, माथवरसिंह थापा जंगबहादुरद्वारा मारिए, जंगबहादुर शिकार खेल्नजाँदा मरे, रणोद्दिप सिंह भतिजाहरुबाट मारिए । मोहन समशेर पहिले क्रान्तिद्वारा पदच्यूत भए र पछि नेपाली कांग्रेसको एकमना सरकारको माँगको फन्दामा परेर राजीनामा गर्न बाध्य भए । टंकप्रसाद र केआई सिंह राजा महेन्द्रका चेसका गोटी थिए । काम सकियो हटाइए । आम निर्वाचन पछिका प्रधानमन्त्री बीपी कोइराला राजा महेन्द्रको सैनिक कूको शिकार भए । पञ्चायतकालमा प्रधानमन्त्रीहरु राजाका अस्तवलका घोडा जस्ता थिए जस्लाई राजाहरु फेरी फेरी चढ्थे । घरि सूर्यबहादुर, घरि किर्तिनिधि बिष्ट, घरि तुल्सी गिरि, घरि नगेन्द्रप्रसाद रिजाल, घरि लोकेन्द्र बहादुर घरि मरिचमान ।
छियालीस साल पछि पनि कुनै प्रधानमन्त्रीले काँध थाकेर पद छाडेको दृष्टान्त छैन । गिरिजाबावूलाई आफ्नौ पार्टीका छत्तीसेले हटाए, मनमोहनजीलाई कांग्रेसले अविश्वासको प्रस्ताबबाट हटायो । कृष्णप्रसाद भट्टराइलाई गिरिजा बाबूले हटाए, गिरिजाबाबूलाई शेरबहादुर देउवा र देउवालाई तत्कालीन राजा ज्ञानेन्द्रले । प्रधानमन्त्री हटाउने खेलमा अप्रिल क्रान्ति पछिको इतिहास पनि रक्तरन्जित नै छ । प्रचण्ड कटवाल प्रकरणका शिकार भए, माधव नेपाल आफ्नै पार्टीको शिकार भए, झलनाथलाई पनि पार्टीकाहरुले पैंचो तिरे । बाबुराम संबिधान सभाको बिघटनको शिकार भए । सुशील कोइराला नयाँ संबिधानको शिकार भए । अब आयो निदुली तिम्रो काल । र तिमी चाहिं भन्छौ मेरो काँध थाकेको छैन । कुन चाहिं पार्टीले तिम्रो काँध जाँचेर थाके नथाकेको हेर्छ ? आफ्नै पार्टीको भर छैन, गठबन्धनको भर पर्ने ?

No comments:

Post a Comment