उ बेलाको गोल्ड कप अनुभव
प्रा. कृष्ण पोखरेल
कुरा अठार उन्नाइस सालको हो । त्यसबेलाको हाम्रो स्कूले जीवनमा सबैभन्दा लोकप्रिय खेल भनेकै फुटबल थियो । हामी पढ्ने आदर्श विद्यालयमा मात्रै पनि त्यसबेला ए देखि डी सम्मका टीम थिए । ए टीमले सहिद मैदानमा खेल्थ्यो, बी टीमले तत्कालिन बडाहाकिमको क्वार्टर अर्थात अहिलेको सिडियोको निवास भन्दा पूर्व उबेलाको खालि चौरमा खेल्दथ्यो । सी टिम स्कूल अगाडि कै चौरमा खेल्थ्यो भने डी टिम अर्थात म क्याप्टेन भएको टीम अहिलेको आदर्श विद्यालयकै उत्तर पट्टिको भवन भएको ठाउँमा रहेको चौरमा खेल्दथ्यो । टुर्नामेन्ट भनेको अनन्त मेमोरियल र बडाहाकिम सिल्ड टुर्नामेन्ट हुन्थे । समयक्रममा त्यै बडाहकिम सिल्ड अञ्चलाधीश सिल्ड भयो । यिनमा भाग लिने भनेका बिराटनगरकै टाउन क्लव, रानीको मिल्स क्लव, धरानबाट बजारको एक र घोपा क्याम्पको बिजीआरडी अर्थात ब्रिटिस गोर्खा रेजिमेन्ट डिपोको एक टिम, अनि छिमेकी भारतीय सहर फारवीस गंज, बीरपुर र पुर्णियाँका टिम हुने गर्थे । यदा कदा मैत्रीपूर्ण फुटबल म्याच पनि हुन्थे । यी सबै म्याच हुने भनेको सहिद मैदानमै हो र बिना प्यारापिट, बिना घेरबारका सबै म्याच बिराटनगरबासीका लागि सित्तैको मनोरञ्जनका साधन थिए ।
तर जब २०१८ सालमा बिराटनगरमा पहिलो पल्ट महेन्द्रको नामबाट गोल्ड कप शुरु भयो फुटबल म्याचमा भाग लिन कलकत्ता देखि भागलपुर र दार्जिलिङ देखि भुटानसम्मका स्तरीय टीमहरु आउन थाले । यसले स्थानीय टीमको गुणस्तर पनि माथि उठ्यो भने अब यो फोकटमा हेर्न पाउने खेल रहेन । सहिद मैदानलाई कहिले जुटमिलबाट ल्याइएको हेसियनले बार्न थालियो भने कहिले ठूल्ठूला कर्कट पाताले । यो सब इनतजाम टिकट काटेर हेर्नका लागि थियो । हो, अहिले मन्च भएको ठाउँमा बिराटनगर टाउनक्लबको भवन थियो । आयोजक र भि.आइ.पी दर्शकका लागि त्यसकै बरण्डा प्यारापिट थियो । त्यहाँ बस्नका लागि कुर्सीहरु सजाइएका हुन्थे । अनि त्यसकै आसपास चौरमा कुर्सी राखेर महगो टिकट लिएकाहरुलाई बसाइन्थ्यो । तिनको छिर्ने गेट पनि त्यही छेउमा हुन्थ्यो । अहिलेका पुस्तालाई यो कुरा अपत्यारिलो गफ जस्तो पनि लाग्ला, तर उबेलाको यथार्थ यही नै थियो ।
स्कुलमा छुट्टी हुना साथ कुदेर मैदान छिर्ने गेटमा ढुकेर बस्नु र त्यहाँ बेला बेलामा झुल्किने आयोजक दाइहरुसँग भित्र छिराउनका लागि अनुनय गर्नु विद्यालयका हामी जस्ता खेलप्रेमी भुराहरुको दैनिक रुटिन हुन्थ्यो । तिनले पनि जब साँच्चै म्याच शुरु हुन्थ्यो र अब टिकट काटेर आउने दर्शक छैनन् भन्ठान्थे अनि हामीलाई छाडि दिन्थे । हामी पनि हुरुरु भित्र छिथ्र्याँैं र ठूला दर्शकको चेपबाट छिरेर लाइनको छेउमा गएर बस्थ्यौं ।
तिन ताक मोरङ्ग एघार फुटबल टीम अत्यन्त सशक्त बनेको थियो । त्यसका नामी खेलाडीलाई लिएर हामी केटाकेटी मात्र नाईँ बिराटनगरबासीका माझ पनि केही भनाई अत्यन्त लोकप्रिय थिए । जस्तो कि, फरवाड कस्तो ? सुब्बा जस्तो । ब्याक्की कस्तो थापा जस्तो, गोल्की जस्तो विष्णु बराल जस्तो । बास्तवमा त्यो टीम यति सशक्त बन्यो कि टाइसीटमा आफ्नो ग्रुपमा परेका दार्जिलिङ देखि कलकत्ता सम्मका टिमलाई पानी पिलाइदियो र फाइनलमा पुग्यो । यो बेग्लै कुरा हो कि अर्कोतिरबाट फाइनलमा पुगेको भागलपुरको टीम सँग पराजीत भएर यो प्रथम संस्करणमा उपविजेतामा थन्कियो । तर लगत्तै अर्को वर्ष २०१९ सालमा सम्पन्न भएको दोस्रो संस्करणमा यस्ले त्यै भागलपुरको टीमलाई हराएर गोल्ड कप उचाल्यो ।
हुन त म जुनबेलाको कुरा गर्दैछु त्यो आज भन्दा सन्तावन्न अन्ठाउन्न वर्ष अघिको कुरा हो । तथापि मेरो स्मरण शक्तिले धोखा दिएको छैन भने मलाई अहिले पनि सम्झना छ मोरङको त्यो टिममा आइ. एस सुब्वा, रामभक्त श्रेष्ठ, तेजबहादुर खड्का इश्वर श्रेष्ठ,जस्ता अग्रपक्तिका खेलाडी थिए भने शालिग्राम अधिकारी र लिलामान सिंह जस्ता मिडफिल्डर थिए । त्यस्तै अमर थापा, कालाचन्द,नवीन थापा, बाबा गुरुङ्ग जस्ता डिफेन्सका खेलाडी थिए भने विष्णु बराल जस्ता गोलकिपर थिए । सुब्बामा खरायो जस्तो फुर्ती थियो । अमर थापा डिफेन्सका पिल्लर मानिन्थे । उनको कैंचीबाट उम्काएर बल अगाडि बढाउनु जो कोहीको बसको कुरा थिएन । र विष्णु बरालको बल समाई चुम्बक बराबर थियो ।
यो टिमको म बृथा गुणगान गरिरहेको छुइन । यसको अव्वलपन यो तथ्यबाटै उजागर हुन्छ कि नेपालको राष्ट्रिय टीममा सामेल गरिएका खेलाडी मध्ये आधा भन्दा बढी यही टीमका थिए । यिनैले पहिलो पटक नेपाललाई प्रतिनिधित्व गर्दै अहिलेको बाड्ग्लादेश अर्थात उ बेलाको पूर्वी पकिस्तानको ढाकामा सञ्चालित आगा खाँ गोल्ड कप टुर्नामेन्टमा खेलेका थिए । बस्तुतः यो बिराटनगरको फुटवल इतिहासको स्वर्णीम युग थियो ।
आखिर कसरी बन्यो यस्तो सशक्त टीम ? पछाडि फर्केर हेर्दा केही खास घटना र पात्रहरुको भूमिका महत्वपूर्ण देखिन्छ । मलाई लाग्छ, हर कुमार सिंहकै पहलमा कलकत्ताबाट एउटा टीम बिराटनगरमा खेल्न आयो । यङ्ग गोर्खा एसोसिएसन नामको त्यो टीमका सबैजसो खेलाडी कलकत्तैतिर बसेका गोर्खाली युवा थिए । हो, त्यही टीमका सुब्बा, थापा दाजुभाइ र गुरुङ्गलाई रोकेर राख्न बिराटनगरको खेलका तत्कालिन हर्ताकर्ताहरु सफल भए । खोइ, तिनकै लहै लहैमा हो वा कसरी हो कलकत्ताका नामी गोल किपर घोष थरका बङ्गाली पनि ढुक्कैले बिराटनगर बसे । ती गोल किपिङमा जाजुल्य त थिए नै फुटबल कोचिङमा पनि त्यति नै निपुण । श्याम वर्णका यी सधैं कालै जर्सी लगाउँथे र बल समाउन डाइभमार्दा उडेजस्तै देखिन्थे । तिनकै कोचिङमा परेर बिष्णु बरालको पनि गोल किपिङ कला गज्जवसँग सुधारिएको थियो ।
खेलाडीहरुलाई टिकाउने मामिलामा विभिन्न संस्था र ब्यक्तित्वहरुको विशेष हात थियो । बिराटनगर जूटमिलमा सुब्बा, कालाचन्द र थापा दाजूभाईले जागीर पाएका थिए । यस काममा मिलका तत्कालिन प्रमुखहरु जुद्धबहादुर क्षेष्ठ र ध्रुवकुमार थापाको योगदान थियो भने गुरुङलाई बिराटनगरमा टिकाउन हर कुमार सिंहको विशेष हात थियो । संयोगले उनी पछि उनकै ज्वाइँ समेत भए । शालिग्राम र तेजबहादुर नेपाल बैंकका कर्मचारी थिए भने रामभक्त गोश्वाराका कर्मचारी र विष्णु बराल महेन्द्र विद्यालयका शिक्षक । अञ्चल प्रशासकका रुपमा तत्कालिन अञ्चलाधीश दामोदर समशेरको पनि उल्लेख्य संयोजनकारी भूमिका थियो ।
यस्ता अनेकौं संयोग र प्रयासहरुले बनेको यो टिममा विस्तारै केही नयाँ पुस्ताका खेलाडी पनि नजोडिएका होइनन् । तर जुन संख्यामा नयाँ पुस्ता जोडिनु पथ्र्यौ त्यो भएन । परिणामस्वरुप तेस्रो संस्करणको पहिलो म्याचमै यो टीम युवा खेलाडीको बाहुल्य रहेको बरहामपुरको टीमसँग चार शून्यले स्तब्ध भयो । त्यस यता ओह्रालो लागेको मोरङ्गको फुटबल टीम पछि कोशी एघार हुँदा पनि चम्कन सकेन । त्यसबेला धरानका नामूद खेलाडी पदम श्रेष्ठ पनि यसै टीमसँग जोडिएका थिए ।
यस पटक युवाहरुको नेतृत्वमा नयाँ उत्साहका साथ फ्ल लाइटमा बिराट गोल्डको रात्रीकालिन संस्करण सञ्चालन हुँदैछ । यो बिराटनगरबासीका लागि अत्यन्त हर्षको कुरा हो । अतः यसको सफलताको कामनागर्नु हामी सबैको कर्तब्य हो । तर अब गोल्ड कप सञ्चालन सँगै बिराटनगरमा अब्वल फुटबल टीमको निर्माणमा पनि विस्तारै ध्यान पु¥याउनु आवश्यक छ । यदि हामीले यहाँको फुटबलको त्यो स्वर्णीम युगलाई पुनः फर्काउन सक्यौं भने साँच्चै नयाँ इतिहास रचिनेछ । यस तर्फ सम्बन्धित सबैको ध्यान जाओस् ।
No comments:
Post a Comment