Thursday, June 24, 2021

 

उनको स्वसृजित संकट र वलात् वहिर्गमन  

कृष्ण पोखरेल

आफ्ना एक पछि अर्को निर्णयलाई सर्वोच्च अदालतले उल्टाइदिए पछि प्रधानमन्त्री ओली विलखबन्दमा छन् । पछिल्लो पटक जब बडो तामझामका साथ नयाँ म्याण्डेट पाएको प्रधानमन्त्रीले झै उनले गरेको मन्त्रिमण्डलको पुनर्गठन र विस्तारलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर ग¥यो र  उल्टाइदियो उनको सरकार उनी सहित पाँचजनामा खुम्चेको छ । यहीं निर मैले बारम्बार उठाउने गरेको कुराको पुष्टि भएको म देख्छु । त्यो के भने सरकार बनाउनु र सरकार चलाउनु दुई फरक कुरा हुन् । प्रतिनिधिसभामा बहुमत जुटे पछि त सरकार बनिहाल्छ मुख्य कुरा चाहिं त्यसलाई चलाउन सक्नु हो । पछाडि फर्केर हेर्दा प्रधानमन्त्रीमा त्यै सरकार चलाउने ढंग देखिएन । 

यसको सम्बन्ध प्रधानमन्त्री केपी ओलीलाई लिएर नेपाली राजनीतिक वृत्तमा बनेको गलत न्यारेटिभसँग छ । उनी अत्यन्त प्रतिभाशाली, क्षमतावान, निर्णय क्षमतायुक्त,   एवं राष्ट्रवादी नेता हुन् भन्ने जुन आम दृष्टिकोण बन्यो÷बनाइयो त्यो नै गलत थियो । हो, भारतीय नाकावन्दीका बेला प्रधानमन्त्रीका रुपमा उनले जुन अडान लिए  त्यसैबाट उनी महान राष्टवादी कहलिए । तर उनले पाएको त्यो पगरी बाइ डिफल्ट मात्रै थियो । यो कुरा उनको विगतको पृष्ठभूमि र यतिबेला उनी जोसँग कुर्लेका थिए उसैसँगको हिमचिमले उदाङ्गो पार्छ । एक वाक्यमा भन्नु पर्दा उनी सुडो न्यास्नालिष्ट हुन् । यो बेग्लै कुरा हो कि उनका निकटस्थहरु र मुलुकको पुरानो संस्थापनले उनको राष्ट्रवादी छविको राम्रो प्याकेजिङ गरे जस्ले गर्दा उनको यो मुखुण्डो अद्यापि कायमै छा । 

यथार्थमा प्रधानमन्त्री ओलीको प्रतिभा भनेको के मात्रै हो भने उनी खतरनाक स्तरका तिकडमवाज हुन् । नेताहरुलाई एक अर्कासँग लडाउने–भिडाउने र त्यसबाट आफ्नो स्वार्थसिद्धि गर्ने मामिलामा उनी भन्दा डेन्जर खेलाडी समकालीन नेपालमा अरु कोही छैन । हो, आफ्ना अनर्गल काम कुरालाई  पनि वाक्पटुताको लेपन लगाएर हो कि क्या हो जस्तो पार्ने कलाका भने उनी विद्यावारिधि नै हुन् । 

धेरै पटक अवसरले नेतालाई सिकाउँछ र उसले आफ्नो कामले आफ्नो औचित्य प्रमाणित गर्छ । यो कुरा यौटा उदाहरणले प्रष्ट्याउँ ।  जुनबेला भारतका प्रधानमन्त्री लालवहादुर शास्त्री हठात सोभियत संघको यात्राका दौरान दिवंगत भए र इन्दिरा गान्धी प्रधानमन्त्री भइन्, उनलाई प्रधानमन्त्री बनाउने पार्टीका स्टलवार्टहरुले आफ्नो स्थिति मजबुत नहोउन्जेलका लागि एक कमजोर विकल्प भन्ठानेर अस्थायी बन्दोवस्तका रुपमा बनाएका थिए । तर समयक्रममा उनलाई विपक्षका नेता अटल विहारी बाजपेयीले समेत दुर्गाको अवतार भनेर प्रशंसा गर्नु प¥यो । उनी आफ्ना विरोधीहरु पस्त पार्न मात्र होइन भारतको राजनीतिमा अमीट छाड्न पनि सफल भइन् । त्यस्तै भूतो न भविष्यतिको अवसर प्रधानमन्त्रीले ओलीले पाएका थिए । तर आफ्नो कार्यक्षमताले आफ्नो औचित्य पुष्टि गर्नु र इतिहासमा उदाहरणीय नेताको छवि बनाउनुको सट्टा उनी विर्सिन लायक नेताका रुपमा डिजेनरेट भए । 

पदले उनमा यस्तो दम्भ र मैमत्तापन आयो कि उनले अरु सबै नेतालाई वाउन्ने देख्न थाले ।  उनी आज राजनीतिको जुन मझधारमा पुगेर चार जना मन्त्रीबाट मैले कसरी सरकार चलाउनु ? भनेर बिलौना गदैछन् त्यो उनको स्वसृजित संकट हो । पहिलो पटक नै अदालतले प्रतिनिधि सभा पुनस्र्थापित गरेका बेला उनले सम्मानजनक बहिर्गमनको अवसर पाएका थिए । तर आफ्नो तिकडमबाजीमा अति विश्वास भएका उनले त्यो अवसर गुमाए । दोस्रो पटक प्रतिनिधिसभामा विश्वासको मतमा पराजीत भएका बेला संसदमा सबैभन्दा ठूलो दलका रुपमा उनको एमालेले सरकार बनाउने अवसर पाउँदा उनका सामू संवैधानिक नैतिकताको ख्याल गरेर पार्टीबाटै चेन्ज अफ गार्ड गरेर मार्ग प्रशस्त गर्ने मौका थियो तर त्यो समेत उनले गुमाए ।

आफूले बस्न नपाए कुर्सी नै भाँचिदिन्छु भन्ने ओली महोदयले आफू राजनीतिबाट अस्त हुने बेला सम्म अब अरु के के वितण्डा मच्चाउने हुन् अझ पनि भन्न सकिने अवस्था छैन । उनकै कर्तुतका कारण आज स्थिति कस्तो सम्म आयो भने लेसर इभिल मानेर शेर वहादुर देउवाको पक्षमा सबै राजनीतिक शक्ति गोलवन्द हुनु परेको छ ।

यतिबेला नेपालको संविधान र त्यसले स्थापित गरेका संवैधानिक मान्यताहरुको जगेर्ना गर्ने एक मात्र सेभियर भनेको सर्वोच्च अदालत नै देखिएको छ । दोस्रो पटक प्रतिनिधिसभाको असंवैधानिक विघटनका विरुद्ध सुनवाई गर्दा सर्वोच्च अदालतले प्रतिनिधिसभा मात्र पुनस्थापित गर्ने फैसला ग¥यो भने पुनः यो मुलुक ओलीको तिकडमको जालमा फस्ने खतरा छ । यस्तोमा १४६ सांसदको माँग दावी बमोजिम फैसला गरे मात्र नेपालको संविधान र यसले स्थापना गरेका संवैधानिक मान्यताहरु सुरक्षित हुन सक्छन् । नेपाली जनता कोरोना कहरबाट मुक्त हुन पनि नेपाली राजनीति ओली कहरबाट मुक्त हुन जरुरी छ ।   जनता कति दिन बेसार पानी, अम्बा पानी र भ्याक्सिनको हावादारी गफ का माहिर यी  कच्चा बैद्य र बतौरे नेताको मार सहेर बस्ने ? उनका लागि अब सेफ प्यासेज होइन बलात् वहिर्गमन आवश्यक छ ।